आन्दोलनको रिर्पोटिङको क्रममा पत्रकारलाई कुटपिट, महासंघको आपत्ति

८ भाद्र २०७५, शुक्रबार ०८:३७

कञ्चनपुरमा निर्मला पन्त हत्या विरुद्ध भइरहेको आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकारमाथि कुटपिट एवं दुव्र्यवहार भएको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । विहिबार भएको आन्दोलनको रिर्पोटिङ गर्न घटनास्थलमा पुगेका पत्रकारमाथि प्रहरीले आक्रमणको भन्दै नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले आपत्ति जनाएको हो ।

महासंघका अध्यक्ष विष्णु अवस्थीले बिहीबार विज्ञप्ति प्रकासित गरी निर्मला पन्त हत्याकाण्डको समाचार संकलनका क्रममा परिचय पत्र देखाउँदा देखाउँदै पनि प्रहरीले पत्रकारमाथि कुटपिट र दुर्व्यवहार गरेको जनाएका हुन्।

प्रहरीले महासंघका कञ्चनपुर शाखा सदस्य एवं रेडियो कञ्चनपुरका स्टेशन म्यानेजर कुन्दनराज पाण्डे, नेपाल टेलिभिजनका सम्वाददाता पदम बोहरा र पवनदुत यातायातका प्रेस सल्लाहकार महेशराज जोशीलाई कुटपिट गरेको थियो।

महासंघले निर्वाधरुपमा समाचार संकलन गर्न पाउने प्रेस स्वतन्त्रताको समेत धज्जी उड्ने गरी प्रहरीले गरेको ज्यादतीको छानविन गर्न र दोषिलाई हदैसम्मको कार्वाही गर्न माग गरेको छ।

एन प्याव्सनले गर्यो विद्यालय बन्दको घोषणा

यता, निजी तथा आवासीय विद्यालयहरुको संगठन एन प्याव्सन कञ्चनपुरले प्रहरी दमनका विरुद्ध भोली शुक्रबार जिल्ला भरीका विद्यालय बन्दको घोषणा गरेको छ।

बलात्कार पछि हत्या गरिएकी छात्रा निर्मला पन्तको हत्यारा पत्ता लगाई दोषिमाथि कारवाही गर्न दबाब दिन शान्तिपुर्ण रुपमा भेला भएका विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेको एन प्याव्सनले जनाएको छ।

बिहीबारको प्रदर्शनमा थुप्रै विद्यार्थीहरु घाइते भएका छन्। प्रहरीको गोली लागी विद्यार्थी अर्जुन भण्डारी गम्भीर घाइते भएका छन्। उनलार्इ थप उपचारका लागि काठमाडौ‌ ल्याइएको छ।