बाँकेमा युरिया मल मल अभाव

७ भाद्र २०७५, बिहीबार १९:२४

यो बेला किसानहरुलाई मलको आवश्यक पर्ने बेला हो । धान बाँकेका अधिकांस स्थानमा धान फल्ने भएकाले यतिबेला धानमा मल छर्नुपर्ने हुन्छ । तर, यो बेला नै मल अभाव हुँदा किसान मर्कामा परेका छन् ।

किसानलाई मलको अत्याधिक आवश्यकता परिरहेको तत्कालीन अवस्थामा कृषि सामाग्री कम्पनीले मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ ।

कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य छन् । सीमानाकाबाट लुकिछिपी ल्याइएका मल सीमावर्ती बजारभन्दा दोब्बर मूल्यमा बिक्री भइरहेको छ । खासगरी सीमा क्षेत्रमा गुणस्तरहीन मलको प्रयोग बढी हुने गरेको छ ।

जिल्लाका कोहलपुर, खजुरा, राप्तीपारिका किसान अनुदानको मल नपाएर महँगो मूल्यमा निजी पसल तथा भारतबाट मल किन्न बाध्य छन् । युरिया मल गत महिना ९०६ मेट्रिक टन बिक्री भएको देखिएको छ । धान खेतीका लागि थप ३०० मेट्रिक टन मल आवश्यक पर्ने निमित्त कार्यालय प्रमुख पौडेलले बताउनुभयो । सहकारीमार्फत् अनुदानको मल बिक्री हुँदै आएको छ ।

जिल्लामा गतवर्ष १०३ सहकारीले कृषि सामग्री कम्पनी लिमिटेडबाट मल खरिद गरेका थिए । कम्पनीले सहकारीलाई युरिया रु ७८३, डिएपी रु दुई हजार २३३, पोटास रु एक हजार ६३३ मा उपलब्ध गराउँदै आएको छ । आपूर्ति समितिको बैठकले उनीहरुको स्थान आधारमा भाडा निर्धारण गरेर बेच्दै आएका छन् ।