तनहुँमा जिप दुर्घटनामा परी ज्यान गुमाउनको सङ्ख्या पुग्यो तीन

८ फाल्गुन २०८०, मंगलवार १७:४२

काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरानचौरस्थित भित्री सडकमा सोमबार (हिजो) भएको जिप दुर्घटनामा ज्यान गुमाउनको सङ्ख्या तीन पुगेको छ । सोमबार जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो भने १६ जना घाइते भएका थिए ।

घाइते भएका मध्ये आँबुखैरेनी गाउँपालिका–६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

यस्तै दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको पनि मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।