नाभाल्नीका परिवारले अझैं शव पाएनन्

८ फाल्गुन २०८०, मंगलवार ०९:३८

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटीनका कट्टर विरोधी एलेक्स नाभाल्नीको शव २ सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ ।

जेलमा बन्द नाभाल्नीको गता साता मृत्यु भएपछि आमालाई जानकारी गराउँदै शव रासायनिक परिक्षणका लागि राखिएको बताइएको थियो । रुसको सबैभन्दा कठिन जेलमा मृत्यु भएका नाभाल्नीको शवको नजिक पुग्न पनि परिवारलाई दिइएको छैन । नाभाल्नीका श्रीमतीले पतिको शव लुकाएको बताएकी छन् ।

उनले आफ्ना पतिको हत्या पुटिनले गरेको र पुटिनविरुद्ध पतिले छेडेको अभियानलाई आफूले निरन्तरता दिने पनि बताइन् । उता, क्रेमलिनले नाभाल्नीको मृत्युको बारेमा आफूहरुले अध्ययन गरिरहेको र अझैंसम्म कुनै नतिजा नआएको जवाफ दिएको छ ।

अनुसन्धानपछि मात्रै हस्तान्तरण गर्ने पनि बताएको छ । नाभाल्नीको मृत्यु पछि पुटिनमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ । संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय फोरमहरुमा नाभाल्नीको मृत्युको जाँच हुनुपर्ने आवाज उठेको हो ।

यसैगरी अमेरिका र युरोपियन युनियनले रुसमाथि नयाँ प्रतिवन्ध लगाउने विषयमा पनि छलफल गरिरहेको बीबीसीले जनाएको छ । तर, रुसका प्रवक्ता दिमित्री पेस्कोभले नाभाल्नीको मृत्युका सम्बन्धमा पश्चिमीहरुको टिप्पणी ‘अंहकार’ र अस्वीकार्य भनेर टिप्पणी गरेका थिए । रुसले नाभाल्नीको ‘सडन डेथ सिन्ड्रोम’ ले ज्यान गएको बताएको छ ।