काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू (नाम) को १९ औं शिखर सम्मेलनमा बाह्र वटा एजेण्डा उठाएका छन।
युगान्डाको राजधानी कम्पालामा शुक्रबार शिखर सम्मेलनलाई सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई महत्व दिएरै उठाएका छन् ।
प्रचण्डको एक दर्जन एजेण्डामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न प्रयास भइरहेको जानकारी देखि विश्वव्यापी वित्तीय सुधारको आवश्यकता,अल्पविकसित मुलुकहरूलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय सहयोग जुट्नुपर्ने तथा राजनीतिक संवाद र कूटनीतिमार्फत शान्ति र सुरक्षा गरिनुपर्ने लगायतका विषय रहेका छन् ।
नेपालको परराष्ट्र नीति असंलग्नतामा आधारित रहेको,संक्रमणकालीन न्याय समाधानको बाटोमा रहेको, इजरायल–प्यालेस्टाइन दुई राज्य स्थापना गरी समाधान गरिनुपर्ने र कम विकसित मुलुकहरू (एलडीसी) लाई सहयोग बढाउन आह्वान तथा युक्रेन र गाजामा द्वन्द्वको अवस्था रहेको र नामले संयुक्त राष्ट्रसंघले भूमिका खेल्नुपर्ने विषय सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले एजेण्डाका रुपमा शुक्रबार प्रस्तुत गरे ।
१९ औं शिखर सम्मेलनमा प्रधानमन्त्रीले सन् १९५५ को बाङडुङको अफ्रिका–एसिया सम्मेलनबाट थालिएको असंलग्न आन्दोलन (नाम) ले लामो यात्रा तय गरेको उल्लेख गर्दै आन्दोलनको नामको भूमिका अझ बलियो हुनुपर्नेतर्फ जोड दिएका छन् ।
नामले विश्वका धेरै देशका राजनीतिक स्वतन्त्रता, उपनिवेशीकरण र सार्वभौमसत्ता र स्वतन्त्रता, प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै दाहालले भने, ‘यो हाम्रो गरिमा, गौरव, ऐक्यबद्धता र सहयोगका लागि आशाको किरण बनेको छ ।
नामले न्यायोचित, समतामूलक, समावेशी, शान्तिपूर्ण र समृद्ध विश्व व्यवस्थाका लागि संघर्ष जारी राखे पनि आजको संसार अन्याय, असमानता, विभाजन, विभेद र बहिष्कारले भरिएको छ ।’
यस्तै प्रधानमन्त्री प्रचण्डले हिंसात्मक अतिवाद तथा युद्ध र द्वन्द्व बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले पछिल्लो शिखर सम्मेलनदेखि नै कोभिड–१९ महामारीका कारण लाखौं मानिसको मृत्यु, विस्थापन र विपन्नतालगायतका ठूला चुनौतीहरू मानवतामा आइपरेको बताए । प्रचण्डले असंलग्नताको मूल्य र सिद्धान्तप्रति नेपालको पुनः प्रतिबद्धता रहेको स्पष्ट पनि पारे ।
नेपालका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कम्पाला गएका प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र मौसम परिवर्तनलाई महत्व दिएरै मुद्दा उठान गर्ने आफ्नो प्रतिबद्धता पूरा गरेका छन् ।
कम्पाला जानुअघि नै दाहालले जलवायु परिवर्तन र त्यसले नेपालमा सहितहिमालय मुलुकमा पारेको असरलाई आफूले उठाउने बताएका थिए ।
शुक्रबार कम्पालाको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले भने,‘हिमालहरू विश्व जनसंख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशत घर हो ।’
उनले नेपालका साथै हिमालय क्षेत्रमा जलवायु परिवर्तनको विनाशकारी प्रभावले डरलाग्दो दरमा हिउँ पग्लने र यसले अर्बौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाका रूपमा देखिएको कुरा सम्बोधनमा क्रममा उल्लेख गरेका छन् ।
‘यी हिमालहरूले सबै जीवित प्राणीहरूलाई विश्वव्यापी सेवाहरू प्रदान गर्दछ तर हिमालहरूले ठूलो समस्या भोगिरहेका छन । नेपालले हिमाल, जैविक विविधता, हिमाली भूगर्भ र त्यहाँ बसोबास गर्ने मानिसको संरक्षणका लागि वकालत गर्दै आएको छ’दाहालले भनेका छन् ।
‘हिमाली पर्यावरण, हिमाली सभ्यता र जैविक विविधताको संरक्षण गर्नु हाम्रो साझा हितमा छ । यसका लागि म ‘नाम’का साथीहरूलाई हाम्रो आह्वान गर्दछु,’ दाहालले अपिल गरे ।
प्रचण्डले अल्पविकसिराष्ट्रहरुलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न सहयोग गर्नका लागि समेत अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरे । प्रधानमन्त्री प्रचण्डले विशेष परिस्थितिमा रहेका देशहरूलाई आफ्नो विकासको दृष्टिकोण र लक्ष्यहरू प्राप्त गर्न, वित्त सुरक्षित गर्न, सक्षम बनाउन ‘ग्लोबल फाइनान्सियल आर्किटेक्चर’ लाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
