प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान,कार्यवाहकको जिम्मेवारी खड्कालाई

४ माघ २०८०, बिहीबार ०९:१०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान २ः१५ बजेकतार एअरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।उक्त सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्रीले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुने दाहाल सचिवालयले जनाएको छ ।

असंलग्न आन्दोलन (नाम) का संस्थापक राष्ट्रहरूमध्ये नेपाल पनि एक सदस्य राष्ट्र हो। नेपालको परराष्ट्र नीति असंलग्नताको सिद्धान्तमा आधारित छ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका थिए ।

प्रधानमन्त्री प्रचण्ड माघ ७ गते नेपाल फर्किने कार्यक्रम तय छ। प्रधानमन्त्री दाहालको अनुपस्थितिमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सम्हाल्ने छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा भट्टराईले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।