काठमाडौं । ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिवी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ ।
टेलिभिजनका अध्यक्ष राई र तत्कालीन एमडी तथा रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले उजुरी दर्ता गराएका हुन् ।
‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, सफलले दर्ता गराएको निवेदनमा उल्लेख गरिएको छ ।
त्यसगरी सफलले सहकारीबाट कर्जा लिँदा दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
यस्तै रास्वप का वडा सभापतिसहित २१ जनाले पार्टी परित्याग गरेका छन्। पार्टीमा ब्यक्तिवादी दासत्व र परम्परागत पार्टीका ब्यवहारभन्दा फरक नरहेको भन्दै गुलरिया नगरपालिका वडा(४ का सभापतिसहित २१ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन्।
पार्टी परित्याग गर्नेहरूमा सभापति प्रेमबहादुर खड्का, सहसचिव दिपेन्द्र प्रसाद लामिछाने, वडा सदस्यहरू रामकुमार चमार, खुशीराम थारु, मेनुका परियार, शान्ति कार्की, सुरेश गोडिया, विरमन पुलामी छन्। त्यस्तै गुलरिया नगर कमिटी कोषाध्यक्ष मनोजकुमार गोडिया, नगर कमिटी सदस्य उमेश यादव रहेको मिडियामार्फत् उनीहरूले जानकारी गराएका छन्।
पार्टीको साधारण सदस्यहरूमा ज्ञान गोडिया, महेश गोडिया, महेश कुमार चौधरी, धिरेन्द्र बहादुर वली, सुरेश कुमार खत्री, ज्ञानेन्द्र श्रेष्ठ, धनबहादुर डांगी, कृष्ण बहादुर वली, अर्जुन बहादु प्रधान, सर्दिप ढुँगाना र विमल बहादुर गौतम रहेका छन्।
