भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राई लाई

२८ पुष २०८०, शनिबार ०९:०६

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् ।

शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन् । बिजेता राई कोच मिलन नेवार टिमका थिए ।

यस्तै मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।

दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

तीन हजार दर्शक अटाउने गोदावरीको खचाखच सनराइज हलमा तीन घण्टा लामो ग्राण्ड फिनाले चलेको थियो । फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिएका थिए ।

चर्चित लोक तथा दोहोरी गायक राजु परियार र बद्री पँगेनीले पनि प्रस्तुति दिए । भ्वाइसको पहिलो सिजनका विजेता सीडी विजय अधिकारीले आफ्नो हिट गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टिभी एचडी र भ्वाइस अफ नेपालको युट्युव च्यानलबाट गरिएको थियो ।