भारतसंग भएकौ ४ वटा सम्झौताबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

२४ पुष २०८०, मंगलवार १२:२६

काठमाडौं । नेपाल–भारतबीच हालै भएका ४ वटा सम्झौताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिलाई जानकारी गराउने भएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बुधवार बस्ने बैठकमा प्रधानमन्त्रीले सम्झौताबारे जानकारी गराउने कार्यसूची रहेको समिति सचिव अधिराज राईले जनाएका छन् ।

भारतीय विदेशमन्त्री डा। एस जयशंकरले हालै गरेको नेपाल भ्रमणको क्रममा पुस १९ गते विद्युत व्यापार लगायत ४ वटा सम्झौता भएका थिए ।

भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता र उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्‍याउने सम्झौतामा गत बिहीवार हस्ताक्षर भएको थियो ।

नेपालले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि भारतले सहयोग गर्ने अर्को सम्झौता भएको छ । यस्तै नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट) र डिपार्टमेन्ट अफ स्पेस अन्तर्गत न्यु स्पेस इन्डिया लिमिटेडबीच सम्झौता भएको थियो ।

भारतीय दूतावासले सहयोग गर्ने रकम २० करोड पुर्‍याइएको सम्झौताबारे सांसदहरूले चासो राखेका छन् ।