काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले विवाह गर्ने भएका छन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । उनीहरुले आफ्नो प्रेम सामाजिक सञ्जाल होस् या सार्वजनिक थलो खुलेरै अभिव्यक्त गर्दै आएका छन् ।
यी दुईले बनाउने भ्लगलाई पनि दर्शकहरूले निकै रुचाउने गरेका छन् । वर्षौदेखि प्रेममा रहेका कारण मिडियामा प्रस्तुत हुँदा होस् वा भ्लगमा आएका प्रतिक्रियाहरू हेर्दा होस् उनीहरूलाई एउटा प्रश्न छुट्दैन । त्यो हो – विवाह कहिले गर्ने ? अब भने उनीहरु विवाहको तयारीमा जुटेका छन् ।
हालसालै एक म्युजिक भिडियो सुटिङका क्रममा मिडियाकर्मीसँग कुरा गर्दै अनुले उक्त कुरा बताएकी हुन् । ‘हामी २०२४ मा पक्का विवाह गर्छौ । दुई मन मिलेपछि विवाह जहिले जुर्छ, त्यतिबेला गर्दा हुन्छ जस्तो लाग्छ । यद्यपि, हामी दुवैले २०२४ मा विवाह गर्ने भनेर एकअर्कालाई वाचा गरेका छौँ’ उनले भनिन्, ‘काम व्यस्तताले गर्दा विवाहको योजना बन्न सकेको थिएन । विवाहको मिति तय त भइसकेको छैन तर हामी यसवर्ष विवाह गर्छौं ।’
