काठमाडौं, ११ पुष । प्रधानमन्त्री पुष्पकमल दहाल‘प्रचण्ड’ले तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिक नेपालीलाई तथा शुभकामना दिएका छन् ।
प्रचण्डले शुभकामना सन्देश जारी गर्दै ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीनहित र विकासको लागि मार्गदर्शन प्रदान गरेको बताएका हुन् ।
उनले ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयहरूमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार संधै सक्रिय रहेको उल्लेख गरे ।
यसका लागि सरकारले ज्येष्ठ नागरिकका ज्ञान, अनुभव, सीप तथा नैतिकआदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण हुने व्यवस्थाको सिर्जना गर्दै परिवार, समाज तथा राष्ट्रलाई असल संस्कृतिको निरन्तरता र समाज सापेक्ष विकासको प्रेरणाको रूपमा लिएको समेत पधानमन्त्रीको सन्देश पत्रमा उल्लेख गरिएको छ ।
प्रचण्डले जेष्ठ नागरिकहरूले जीवन पर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरि राख्ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय जेष्ठ नागरिकको उचित हेरचाहको प्रवन्ध गर्न सरकार निरन्तर लागि परेको बताए ।
प्रधानमन्त्री दाहालप्रचण्डले आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकका अधिकारहरू प्रत्याभूत गर्न गरिएका व्यवस्थाहरू सामाजिक सुरक्षा भत्ता, ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, जेष्ठ नागरिक आश्रम, दिवा सेवा केन्द्र तथा उनीहरुलाई सेवा सुविधामा प्राथमिकता, छुट एवं सहुलियत प्रदान गर्ने कार्यक्रमहरु विस्तारै गुणस्तरीय बनाउने विश्वास दिलाए ।
