काठमाडौं, १० पुष । काठमाण्डौको भृकुटीमण्डपमा आठौँ घरजग्गा मेला हुने भएको छ । भृकुटीमण्डपमा पुस १२ गतेदेखि १५ गतेसम्म आठौँ घरजग्गा मेला हुने भएको हो ।
मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजनामा आबद्ध व्यवसायी, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियर तथा आर्किटेक्चर कन्सल्ट्याण्टलगायत स्वदेशी तथा विदेशी प्रदर्शकका साथै बैंक र बीमा कम्पनीको समेत सहभागिता रहने नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष विदुर धमलाले बताए।
उनले मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुङ्गालगायत निर्माण सामग्री प्रदर्शनमा राखिने पनि बताएका छन् । उनले अहिलेको देशको आर्थिक अवस्था केही असहज भए पनि क्रेता र बिक्रेताबीच सूचना आदानप्रदान हुने र जानकारी पाइने माध्यम बन्ने बताए ।
हरेक नागरिकहरुका लागि यो मेला महत्त्वपूर्ण रहेकाले मेलामा आएर अहिलेको घरजग्गाको कारोबारहरुबारे चासो राख्न सकिने बताउनु भयो । उहाँले यस वर्ष २ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने अपेक्षा राखेको बताए ।
कोरोनाका कारण केही वर्षयता रोकिएको घरजग्गा मेला शुरु हुनुले थप सहजता थप्ने उनको विश्वास छ । मेलाको अवलोकन डेढ लाख मानिसहरुले गर्ने आयोजकले आकलन गरेको छ । उनले मेलाको लागि अन्तिम तयारी पूरा भइसकेको पनि बताए।
