फिल्म खेल्नका लागि खेल्यो भन्ने खालको छ भने फिल्म नै खेल्दिन: राजेश हमाल

१५ मंसिर २०८०, शुक्रबार १३:३६

काठमाडौं, १५ मंसिर । महानायक राजेश हमालको पछिल्लो नेपाली चलचित्र ‘शकुन्तला’ थियो । उनले केमियो भूमिका रहेको चलचित्र ‘बिजुली मेसिन’मा पनि अभिनय गरेका थिए । त्यसपछि उनले चलचित्र नगरेको सात वर्षको ग्याप भइसकेको छ ।

बीचमा उनले फिल्म ‘सत्यम्’मा साइन गरे । त्यो फिल्मको वर्कसप पनि भयो । तर निर्माता ‘फरार’ भएपछि हमालको पुनरामगन तत्काल हुन सकेन । यसबीचमा उनलाई अन्य केही फिल्मले अफर पनि गरे । यी फिल्ममा बुवाको रोलको प्रस्ताव गरिएको तर हमालले अस्वीकार गरेको चर्चा पनि चल्यो ।

अभिनेता हमालले हालै फिल्म पुनरामगनबारे टिप्पणी गरेका छन् । मिडिया कुराकानीमा उनले आफूलाई अफर आउने फिल्मको रोल प्रभावकारी नभएकाले नगरेको बताएका छन् । अहिले पनि प्रशस्तै अफर आउने तर त्यस्तो अफर गर्नेलाई आफूले नभेटेको हमालले बताएका छन् ।

अहिले पनि फिल्ममा काम गर्दा आफूले गर्ने भूमिका प्रभावकारी होस् भन्ने चाहना आफ्नो रहेको हमालको धारणा छ । ‘अहिले पनि काम गर्दा पुरानै ढाँचामा काम गरौं भन्ने भएन,’ उनले भनेका छन्, ‘फिल्म खेल्नका लागि खेल्यो भन्ने खालको छ भने फिल्म नै खेल्दिन ।’ उनले अहिलेको अवस्थामा यस्तो फिल्ममा काम गरेर फाइदा नहुने समेत बताएका छन् ।

नाम चलेका निर्माता र निर्देशकले अहिले पनि फिल्म अफर गरेको तर आफूले अस्वीकार गरेको हमालको धारणा छ । अभिनय बाहेक हमालले धेरैपटक फिल्म निर्देशन र निर्माण गर्ने बताएका थिए । तर यसबारे उनले काम अघि बढाएका छैनन् । बरु उनी अहिले म्युजिक भिडियो, कार्यक्रम निर्माण र घुमघाममै व्यस्त छन् ।