काठमाडौं, १४ मंसिर । नेपालको इतिहासमै पहिलोपटक समलिङ्गी जोडीले आफ्नो विवाह दर्ता गरेका छन् ।
कावसोती नगरपालिका वडा नं. ८ नवलपरासीका सुरेन्द्र पाण्डे र दार्दी गाउपालिका वडा नं. २ लमजुङका राम बहादुर गुरुङले २०८० मंसिर १३ गते समलिङ्गी विवाह दर्ता गराएका हुन् ।
उनीहरुले २०७४–०६–२७ मा सामाजिक परम्परा अनुसार समलिङ्गी विवाह गरेका थिए । ‘सम्मानित सर्वाेच्च अदालतको अन्तरिम आदेश वमोजिम विवाह अस्थायी अभिलेख रहने गरी जारी गरिएको’ ऐन अनुसार उनीहरुको समलिङ्गी विवाह दर्ता गरिएको छ ।
२०६४ सालमा अदालतले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने सम्बन्धमा अध्ययन गर्न समिति गठन गर्न सरकारलाई आदेश दिएको थियो । २०७१ सालमा उक्त समितिले सरकारलाई ूसमानताको सिद्धान्तको आधारमा समलिङ्गी विवाहलाई कानुनी मान्यता तय गरिनु उपयुक्त देखिनेू भनी सुझाव दिएको थियो ।
त्यसपछिका सरकारहरूले सम्बन्धित कानुनलाई संसद्मा पुर्याउन नसक्दा अदालतबाट थप निर्णयहरू भए । यसै वर्षको सुरुताका अदालतले जर्मन पुरुषसँग विवाह गरेका एक नेपाली पुरुषको विवाहलाई मान्यता दिन सरकारलाई आदेश दिएको थियो ।

