बिजुली अवरुद्ध हुँदा नेप्सेको सम्पूर्ण सिस्टम डाउन

१३ मंसिर २०८०, बुधबार ११:३९

काठमाडौं, १३ मंसिर । नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार बिहान समयमै सेयर कारोबार हुन सकेको छैन ।

साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा सो कारोबार पनि भएन भने ११ बजेबाट हुने नियमित कारोबार समेत हुन सकेको छैन ।

बिजुली अवरुद्ध हुँदा सम्पूर्ण सिस्टम डाउन हुन गई समयमै कारोबार हुन नसकेको नेप्सेले जनाएको छ । ‘यहाँ निर्माण कार्य चलिरहेको छ, काम गर्ने क्रममा बिजुली अवरुद्ध हुन जाँदा सिस्टम डाउन हुन गई कारोबार हुन नसकेको हो’ नेप्से स्रोतले भन्यो ।

अहिले बिजुली आपूर्ति भइसकेको र सिस्टम चार्ज भइरहेकाले केही समयपछि कारोबार सुरु हुने नेप्सेले जनाएको छ । सिस्टम चार्जका लागि ब्याकअप समेत नहुनुले नेप्सेको लापरबाही छरपस्ट देखिएको छ ।