काठमाडौं, १३ मंसिर । युक्रेन–रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएका छन् ।
मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् ।
उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए । मृतक राजकुमार रोक्का र मस्कोस्थित नेपाली दूतावासले पठाएको पत्र ।
दूतावासले रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको भूमिमा मृत्यु भएको जानकारी दिँदै मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको हो ।
थपलिया भने असार २९ मा नै युक्रेनको बाखमुतमा मारिएका थिए । यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ ।
रुसी सेनामा भर्ती हुने नेपालीको यक्रिन विवरण नराखेको नेपाल सरकारले यसबारे रुसी सरकारसँग कुराकानी भइरहेको बताएको छ ।
थपलिया एक वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पठाइएका थिए । त्यसको एक महिनालगत्तै उनी मारिएको खबर परिवारले पाएका थिए ।
रुसले थपलियाको शव भने नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो ।
परराष्ट्रले भने रुस–युक्रेनमा मारिएका नेपालीको अहिलेसम्म विवरण सार्वजनिक गरेको छैन । रुस–युक्रेन युद्धमा नेपाली मारिन थालेपछि सोमबारदेखि परराष्ट्रमन्त्री एनपी साउदले आन्तरिक छलफल थालेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यसबारे मंगलबार परराष्ट्र, गृह र रक्षा मन्त्रालयको नेतृत्वसँग चासो राखेका छन् । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले पनि विस्तृत विवरण आउन बाँकी नै रहेको बताए ।
युक्रेन मामिला हेर्ने जर्मनीस्थित नेपाली दूतावासले खत्रीको रिहाइका लागि युक्रेनलाई अनुरोध गरिएको जनाएको छ । २०७८ फागुन १२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युद्ध अझै पनि जारी छ ।
रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए । युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीलाई आफ्नो सेनामा भर्ती गराइरहेको छ ।
उसले ६ महिनाअघि मात्रै सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपाली युवाको आकर्षण बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति लिएर पछिल्लो १६ महिनामा ५ सय ९६ जना नेपाली रुस गएका छन् । सबैभन्दा बढी पछिल्लो चार महिनामा ३ सय ४ जना गएको देखिन्छ ।
