अमेरिकामा मृत्यु भएका नेपालीका परिवारले पाए इन्स्योरेन्सको ३ करोड ३३ लाख

१० मंसिर २०८०, आईतवार १४:४२

काठमाडौं, १० मंसिर । अमेरिकाको न्यूजर्सी राज्यमाज्यान गुमाएका नेपाली विष्णु शाहको परिवारलाई इन्स्योरेन्स बापतको रकम उपलव्ध गराईएको छ।

टेक्सास नेपाली समाजका उपाध्यक्ष तथा न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीका वित्तीय इन्स्योरेन्स एजेन्ट जनक भण्डारीले मृतक शाहको परिवारलाई इन्स्योरेन्स बापतको रकम हस्तान्तरण गरिएको जानकारी दिए ।

विष्णु शाहको निधनपछि उनको इन्स्योरेन्स भएको कम्पनी न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीले त्यस बापत २ लाख ५६ हजार ५ सय ६२ अमेरिकी डलर (तीन करोड तेत्तीस लाख बराबरको नेपाली रुपैयाँ) नेपालमा रहेका उनको परिवारलाई उपलब्ध गराइएको हो ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६ स्थायी घर भएका शाहको हृदयाघातका कारण अमेरिकामा १७ जनवरी २०२३ मा निधन भएको थियो । शाह ९ वर्ष अगाडि अमेरिका पुगेका थिए । उनको परिवार हाल दाङको घोराही नगरपालिका वडा नम्बर १५ मा बस्दै आएकोछ।

शाहले न्यूयोर्क लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका थिए । कम्पनीले बीमा बापतको रकम नेपालमा रहेकी उनकी श्रीमती मिना शाहलाई उपलब्ध गराएको छ ।