काठमाडौंका थप पाँचवटा क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

६ मंसिर २०८०, बुधबार ०८:१५

काठमाडौं, ०६ मंसिर । काठमाडौंका थप पाँचवटा क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप निषेधित क्षेत्र घोषणा गरेको हो ।

कार्यालयले महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटारसहित पाँच क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुसी निस्कने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणतर्फ प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारका लागि पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म, प्रधान न्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिमसम्म, राष्ट्र बैकं चोकबाट पूर्वतर्फ १०० मिटरसम्म र इटालीया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ ।

यसैगरी संसद् भवन नयाँ बानेश्वरमा संसद् भवनको चारैतर्फको सडकसम्म, संसद् भवनको दक्षिण मोड (यातायात व्यवस्था विभाग) देखि पूर्वतर्फ मिनभवन चोकसम्म निषेधित क्षेत्र तोकिएको छ ।

कार्यालयले यसअघि नै माइतीघर मण्डलादेखि बानेश्वरसम्म एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

मंगलबारै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि मन्त्री निवास पुल्चोक क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरेको छ । ७ मंसिरमा युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले आयोजना गरेको छुट्टाछुट्टै शक्ति प्रदर्शनको कार्यक्रमको पूर्वसन्ध्यामा प्रशासनले यो निर्णय गरेको हो ।

यस्तो छ प्रशासन कार्यालयको सूचना

null

null