भारत एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

३० कार्तिक २०८०, बिहीबार ०८:४४

काठमाडौं, ३० कात्तिक । भारत एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
भारतले प्रस्तुत गरेको ३ सय ९८ रनको बिशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३ सय २७ रनमा समेटियो ।

न्युजिल्याण्डले ४८ दशमलव ५ ओभरमा अल आउट हुँदै ३ सय २७ रन बनाएको हो । न्युजिल्याण्डका लागि डेरिन मिचेलले १ सय ३४ रनको शानदार इनिङ्स खेले । कप्तान केनविलियम्सले ६९ रनको योगदान गरे ।

भारतले उपाधिका लागि अष्ट्रेलिया र साउथ अफ्रिकाबीचको विजेतासँग खेल्नेछ । भारतका मोहमद सामीपुन एक पटक चम्किएपछि न्युजिल्याण्ड खेलमा जम्न सकेन । सामीले ७ विकेट लिदै भारतलाई बलिङमा शानदार प्रर्दशन दिलाए ।

जसप्रीतबुम्राहा, मोहमद सिराज र कुलदीप यादवले समान एक एक विकेट हातपारे । बुधबार वानखडे स्टेडियममा घरेलु टोली भारतले फाइनल प्रवेशका लागि न्युजिल्याण्डलाई ३ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो ।

कोहलीले कीर्तिमानी ५० औं शतकप्रहार गर्दा श्रेयशको लगातार दोस्रो शतकमा भारतले झण्डै ४ सयको विशाल योगफल बनाएको हो । कोहलीको १ सय १७ रनको इनिङ्समा भारतका लागि श्रेयशले १ सय ५ रनको शानदार पाली खेले । दुवैले दोस्रो विकेका लागि १ सय ६३ रनको साझेदारी गरेका थिए ।

विराटले एक दिवसीय खेलमा कीर्तिमानी ५० औं शतक प्रहार गरेका छन् । उनले सचिन तेन्दुलकरको नाममा रहेको ४९ औं शतकको कीर्तिमानलाई समेत भंग गरेका छन् ।

ठुलो रनतर्फ अघि बढेका सुभमनगिल ८० रनमा रिटायडहर्ट हुदाँ कप्तान रोहितशर्माले ४७ रनको योगदान गरेका थिए । केएल राहुलले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए ।
दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र साउथअफ्रिका खेल्नेछन् ।