रुपन्देहीको सिद्धार्थनगर खुल्ला दिशामुक्त घोषणा

२१ पुष २०७४, शुक्रबार १५:४९

तेजेन्द्र के.सी. पुस २१, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई तामझामका साथ खुल्ला दिशामुक्त घोषणा गरीएको छ । ¥याली, झाकी तथा सभाको आयोजना गरी शुक्रवार सिद्धार्थनगरलाई खुला दिसामुक्र घोषणा गरीएको हो । खुल्ला दिशामुक्त नगर घोषणा कार्यक्रय अघि बुद्धचाकेबाट बाजागाजा सहित विभिन्न जनचेतनामूलक नारा लेखिएको प्लेकार्डसहित ¥याली निकालिएको थियो ।

¥याली बर्मेलीटोल, नारायणपथ, मिलनचोक, बैंकरोड, देवकोटाचोक हुँदै महेन्द्र सभा गृहमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भैरहवामा क्रियाशिल विभिन्न संघसंस्था, उद्योगी–व्यापारी, राजनैतिक दल, आमा समूह, नागरिक समाज र विभिन्न विद्यालयका गरी ७० वटा संघसंस्थाको सहभागिता रहेको थियो । ‘पर्यटन उद्योग–व्यापार र शिक्षा हराभरा बुद्धभूमि, सिद्धार्थनगरको इच्छा’ तथा ‘हाम्रो नगर सफा राख्छौं, खुल्ला दिशा गर्नेलाई दण्डित गर्छौ’ भन्ने नाराकासाथ नगरलाई खुल्ला दिशामुक्त क्षेत्र गरिएको हो ।

नेपाल सरकारले सन् २०१७ सम्म नेपाललाई खुल्ला दिशामुक्त घोषणा गर्ने नीति लिए पनि पूर्ण रुपमा अझै खुल्ला दिशामुक्त हुन सकेको छैन । सरकारले तोकेको अवधिमा रुपन्देही पनि खुल्ला दिशामुक्त हुन सकेन । रुपन्देहीमा अब लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका खुल्ला दिशामुक्त घोषणा गर्न बाँकी छन् । सिद्धार्थनगरलाई जिल्ला समन्वय समिति रुपन्देहीले खुल्ला दिशामुक्त नगरको परिचयसहितको प्रमाण पत्र दिएको छ ।

खुल्ला दिशामुक्त नगर समारोहलाई सम्बोधन गर्दै रुपन्देही क्षेत्र नं. ३ का सांसद एमाले उपमहासचिव घणश्याम भुसालले नागरिकको स्वस्थ्य रहन पाउने अधिकारलाई नगरपालिकाले सम्बोधन गरेकोप्रति खुशी व्यक्त गरे । उनले खुल्ला दिशामुक्त सँगै बालमैत्री, अपांगमैत्री, छुवाछुतरहित र नारीमैत्री नगर बनाउन सबैले पहलकदमी गर्नु पर्ने धारणा राखे । उनले लुम्बिनीको विकास नभएसम्म रुपन्देही र देशको विकास नहुने बताउँदै सबैको सहयोग रहे मात्र विकास गर्न सकिने बताए । रुपन्देही क्षेत्र नं. ३ प्रदेश सभा १ का सदस्य सन्तोष पाण्डेयले प्रदेशको विकास गर्न आफूले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । पाण्डेयले सिद्धार्थनगर खुल्ला दिशामुक्त भए पनि अझै केही समस्याहरु बाँकी रहेको बताउँदै त्यसलाई सम्बोधन गर्न आफू नगरपालिकासँग हातेमालो गरी काम गर्ने बताए ।

जिल्ला समन्वय समितिका सभापति एकराज विश्वकर्माले सिद्धार्थनगरले विकासको एउटा खुड्कीलो मध्ये खुल्ला दिशामुक्त नगर घोषणा गरेर सहरानीय काम गरेको बताए ।

कार्यक्रममा नगरप्रमुख हरिप्रसाद अधिकारीले सरकारले तोकेको समयमै नगरलाई खुल्ला दिशामुक्त घोषणा गर्ने आफूहरुको इच्छा भए पनि स्रोतसाधन, गरिबी तथा विपन्न परिवारका सदस्यहरुले समयमै शौचालय बनाउन नसक्दा केही ढिला भएको बताए । उनले नगरपालिकाले क्रमिक विकासका कामलाई अगाडि बढाउँदै लगि रहेको जनाउँदै नगरबासीकै सहभागिता विकास निर्माण र समस्या समाधान गर्ने बताए ।

कार्यक्रममा नगर उपप्रमुख उमा काफ्ले, जिल्ला समन्वय समितिका इन्जिनियर धुव्र धिताल, नगरपालिकाका प्रशासकीय अधिकृत यमबहादुर कुँवर, एमालेका रामबहादुर श्रेष्ठ, काँग्रेसका विरेन्द्र श्रविास्तव, माओवादी केन्द्रका विश्वास बराल, संघीय समाजवादी फोरमका अर्जुन जैसाल, सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग व्यापार संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारी, नमूना एकीकृतकी अध्यक्ष ज्ञानु पौडेललगायतले मन्तव्य राख्दै खुल्ला दिशामुक्त नगरलाई अझै व्यवस्थित बनाउन सकैको सहकार्य आवश्यक रहेको बताएका थिए । उनीहरुले यहाँ आउने पर्यटक, यात्रुहरुको सुविधाका लागि नगरपालिकाले सार्वजनिक शौचालय पनि निर्माण गर्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा खुल्ला दिशामुक्त नगर घोषणा गर्न सहयोग गर्ने विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो भने ¥यालीमा सहभागी मध्ये ७ वटा समूहलाई नगदसहित सम्मान समेत गरिएको थियो । जसअनुसार रुपन्देही लिलाराम न्यौपाने उच्च माविले पहिलोस्थान हासिल गर्दै नगद १० हजारसहित प्रमाण पत्र पाएको छ । अमर ज्योति स्कूल दोस्रो भई नगद ७ हजार र प्रमाण पत्र तथा बेलहिया मावि तेस्रो भई नगद ५ हजार र प्रमाण पत्र पाएको छ । त्यस्तै नेपाल मगर संघ, मदरसा गौसिया र कृष्टियन समूहले सान्वना भई नगद ३ हजारसहित प्रमाण पत्र पाए । कार्यक्रम नगरपालिकाका प्रशासन प्रमुख शेखरनाथ पन्थीको संचालनमा सम्पन्न भएको थियो ।