विश्वकप छनोटमा यूएईसँग खेल्ने टोलीको घोषणा

२४ कार्तिक २०८०, शुक्रबार १९:०७

काठमाडौं, २४ कात्तिक । विश्वकप छनोट फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलका लागि यूएई जाने राष्ट्रिय टिमको घोषणा भएको छ ।

शुक्रबार प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । प्रशिक्षकले घोषणा गरेको नेपाली टिममा अनुभवी डिफेन्डर अनन्त तामाङ छनोट भएका छैनन् ।

नेपालले कात्तिक ३० गते यूएईसँग यूएइको घरेलु मैदानमा समूह चरणको पहिलो खेल खेल्ने छ भने मंसिर ५ गते दशरथ रंगशालामा यमनसँग खेल्ने छ ।

कार्यक्रममा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले राष्ट्रिय टिमले पहिलो र दास्रो यो समूहमा छनोट भएर आफूहरुको मेहनतलाई मैदानमा प्रमाणित गर्न आग्रह गरे ।

उनले भने, ‘यो पटक हामी खेलेर जितेरै दोस्रो चरणमा पुगेका छौं । हाम्रो राष्ट्रिय टिमले जुन मेहनत गर्यो यो पटक तपाईहरुलाई धेरै बधाई । यो टिमसँग विश्वास छ हामी पहिलो र दोस्रो यो समूहमा हुन्छौं भन्ने । मैदानमा आफूलाई प्रमाणित गरेर देखाउनु हुन्छ भन्ने विश्वास छ ।’

यूएईसँग छनोट खेल्ने नेपाली टोलीमा किरण कुमार लिम्बु, मनिष डाँगी, दीप कार्की, अभिषेक बराल, योगेश गुरुङ, सनिश श्रेष्ठ, सेसेहाङ आङदाम्बे, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, ऐरिक विष्ट, छिरिङ लामा, लकेन लिम्बु, उत्सव राई, क्रितिश रत्न छुन्जु, निशान हमाल, अन्जन विष्ट, आयुष घलान, अमृत श्रेष्ठ, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार छन् ।