अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’को गीत ‘वाहवाहवाह’ले दर्शकको मन जित्दै

२४ कार्तिक २०८०, शुक्रबार ०८:५२

काठमाडौं, २४ कात्तिक । फिल्म‘उपहार’ को पहिलो गीत‘वाहवाहवाह’ले सार्वजनिक भएका एक हप्तामै दश लाख दर्शकको मन जितेको छ।

यो गीत सार्वजनिक भएपछि यसलाई रुचाएका दश लाख दर्शकले ‘लाईक’ गरेका छन्। अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै गत शुक्रबार त्यो गीत सार्वजनिक गरेको थियो ।

यो गीतमा बाबुल गिरी र एलिना चौहानको स्वर छ । गीतमा बाबुल गिरीकै संगीत र शंकर अधिकारी ‘घायल’को शब्द छ ।

मनोरञ्जनात्मक र नृत्य शैलीको यो गीतको भिडियोमा तीन जोडीको रुपमा रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई प्रस्तुत गरिएको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

रेखाफिल्मस् र कपनगढी सिनेमा प्रा.लिको संयुक्त प्रस्तुति रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन् ।

शुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा बलराम शाही ठकुरी छन् । यो फिल्म फागुन २५ गते रिलिज हुने भएको छ । यसको छायांकन फिल्मक्रियू नेपालका निर्देशक विष्णु कल्पितले गरेका हुन्।