लुम्बिनी कांग्रेसको प्रदेश सम्मेलन मंसिर १६ र १७ गते बुटवलमा

२२ कार्तिक २०८०, बुधबार ११:५७

काठमाडौं, २२ कात्तिक । दाङ– कांग्रेस लुम्बिनी प्रदेशको प्रदेश सम्मेलन बुटवलमा मंसिर १६ र १७ गते बुटवलमा हुने भएको छ ।

कांग्रेस लुम्बिनीका सभापति अमरिसंह पुनको अध्यक्षतामा बसेको बैठकले सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले प्रदेशभित्रका १२ जिल्लाको जिल्ला सम्मेलन मंसिर १० गते अनिवार्य गरिसक्नुपर्ने निर्णय गरेको छ ।

बुटवलमा प्रदेश सम्मेलनलाई गर्न सभापति पुनको संयोजकत्वमा प्रदेश पदाधिकारी, सदस्य, जिल्ला र क्षेत्रीय सभापति एवं भातृ तथा शुचेच्छुकका सभापति प्रदेश र सल्लाहकार गरी २ सय ५ सदस्यीय प्रदेश सम्मेलन मूल आयोजक समिति गठन गर्ने निर्णय भएको सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) ले बताए ।

जसमा उपसभापति भुवनप्रसाद श्रेष्ठको संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन समिति, महामन्त्री विक्रम खनालको संयोजकत्वमा सांगठानिक प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष प्रकाश रानाको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन समिति गठन गर्ने निर्णय गरेको छ ।

सम्मेलनले लुम्बिनी प्रदेशको आर्थिक नीति निर्धारण तथा सम्भाव्यता अध्ययन गर्नका लागि पोलिसी ह्याकाथन कार्यक्रम सहमहामन्त्री निमा गरीको संयोजकत्वमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैंठकले जाजरकोट र रुकुमका भूकम्प पीडितहरुलाई सहयोग गर्न ‘भूकम्प पीडित राहत पुनःस्थापना कोष–२०८०’ स्थापना गरी आर्थिक संकलन गर्ने निर्णय गरेको छ। कोषमा रकम जम्मा गरेर उपलब्ध गराइने उनले बताए ।