काठमाडौं, १९ कात्तिक । सरकारले जाजरकोट भूकम्पमा परेर घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने भएको छ ।
आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
जतिसुकै महंगो उपचार गर्नुपर्ने भए पनि सरकारले निःशुल्क उपचार गर्नेछ ।सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि अन्तर्राष्ट्रिय सहयोग लिने भएको छ । मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री बस्नेतले जानकारी दिए ।
तर, कस्तो र कुन सहयोग लिने भन्ने कुरा छलफल र निर्णय गरेर मात्रै लिइने छ ।
सरकारले भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि शुरू गर्ने भएको छ । यसका लागि रकम निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए । बसोबासको व्यवस्था सरकारले गर्ने भन्ने भएको छ। पुनर्निमार्णमा पनि सकरारले सहयोग गर्ने छ,उनले भने, आर्थिक कुरामा छलफल भएको छ । पहिले तीन लाख दिएको हो । अहिले केही बढाउने कुरा छ ।
शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ।
