एमालेको चियापान आज, नेकपा एसलाई पनि निम्तो

१५ कार्तिक २०८०, बुधबार १३:००

काठमाडौं, १५ कातिक– नेकपा एमालेले आज चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरू हुनेछ ।

यस अघि एमालेले हिजो मंगलबार चियापान आयोजना गर्ने भनेकामा सो दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम परेकाले चियापान आजका लागि सारिएको थियो ।

चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख लगायतलाई आमन्त्रण गरिएको एमाले प्रचार विभागले जानकारी दिएको छ । एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीलाई पनि एमालेले चियापानमा निम्तो गरेको छ ।

यसअघि एमालेले एकीकृत समाजवादीलाई आफ्ना कुनै कार्यक्रममा पनि बोलाउने गरेको थिएन । चियापानमा एमालेले नेकपा एसका अध्यक्ष माधव नेपाल, महासचिव घनश्याम भुसाल र नेता झलनाथ खनाललाई पत्र काटेरनै चियापान समारोहमा निम्तो गरेको छ ।