पार्टी खोलेर चुनाव लड्न पूर्व राजालाई माधव नेपालको चुनौति

१ कार्तिक २०८०, बुधबार ११:३९

काठमाडौ, १ कातिक– पूर्व प्रधानमन्त्री माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौति दिएका छन्। । भक्तपुरमा आज आयोजित दशैं शुभकामना कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेपालमा कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य नहुने बताए ।

नेपालले भने, आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन पूर्व राजालाई चुनौती दिए ।

अध्यक्ष नेपालले भने, ‘प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य हँदैन, नेपालमा अब कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य छैन ।

भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्छ।’नेपालले भने, ‘विगतमा उनीहरूले कसरी यो मुलुक चलाएका थिए, तिनीहरूका पनि हामीलाई एकएक कुराहरू सबै थाहा छ। त्यसो हुनाले संविधानलाई मास्न खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने, पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने त्यस्ता तत्वप्रति सबै होसियार हुनुपर्छ। कुनै वंशको शासन नेपालमा नेपाली जनतालाई स्वीकार्य छैन।’अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए। गठबन्धन भत्काउने कोसिस कुनैपनि हालतमा सफल नहुने उनको दाबी छ।