काभ्रेको सुन्दरवस्तीमा विद्युतीय माइक्रो दुर्घटना, एक जनाको मृत्यु

१ कार्तिक २०८०, बुधबार ११:१९

रामेछाप , १ कातिक– बुधबार बिहान बिपी राजमार्ग अन्तर्गत काभ्रेको पनौती–५ सुन्दरवस्तीमा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।

बुधबार बिहान काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प १७७२ नं को मोटरसाइकललाई काठमाडौंबाट रामेछापका मन्थली आउँदै गरेको बा प्र ३–००१ ज ०२९८ नंको विद्युतीय माइक्रो बसले ठक्कर दिई भाग्ने क्रममा माइक्रो सडकको नालीमा खसेको थियो ।

दुर्घटनामा घाइते रामेछापको मन्थली नगरपालिका–१२ की २० वर्षीय रमिला बुढाथोकीको धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गाडीमा सवार मन्थलीका २३ वर्षीय पुष्पा तामाङ, मोटरसाइकल चालक इलामको थाकाथुम गाउँपालिकाका ४० वर्षीय रामकुमार राई र उहाँकी श्रीमती ३९ वर्षीय प्रविशा सुनुवार घाइते भएका छन् ।

घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडीका चालक काभ्रेको पनौती–५ का उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।