हामीले राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना गर्न सकेनौँ: राष्ट्रपति पौडेल

३० आश्विन २०८०, मंगलवार १२:०८

काठमाडौं, ३० असोज– राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक पुनसंरचनासँगसँगै राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना भने गर्न नसकिएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलनमा राष्ट्रपति पौडेलले सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु देखा परेको पनि बताएका छन ।

पौडेलले भने, ‘राजनीतिक परिवर्तन पछि देश आर्थिक विकासको चरणमा प्रवेश गरेको छ । तर सङ्क्रमणकाल लामो बन्दा मुलुकमा केही चुनौतीहरु पनि देखा परेका छन् ।

यो चुनौतीको जराबारे मैले सँधै भन्ने कुरा हामीले राज्यको प्रशासनिक पुनसंरचना त गर्यौ तर राज्यको चरित्र र जीवन पद्धतिको पुनसंरचनाअझै हुन बाँकी छ ।’

उनले संघीय लोकतान्त्रीक गणतन्त्रका निश्चित मूल्यमान्यता सिद्धान्त र दर्शनलाई आत्मसाथ गर्न नसके चुनौतीहरुको समाना गर्न नसकिने पनि बताएका छन ।

नेपालले आर्थिक विकासको लागिचाहिने आर्थिक पूर्वाधार औद्योगिकीकरण र आन्तरिक उत्पादन तथा आयातको विषयमा बहुपक्षीय साझेदारी आवश्यक भएको उनले बताएका छन ।