दसैं मान्न पैसा माग्दा नदिएपछि नुवाकोटको पन्चकन्यामा एक बृद्धाको खुकुरी प्रहार गरि हत्या

२९ आश्विन २०८०, सोमबार १२:११

काठमाडौं, २९ असोज– नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका– ३ मा एक २७ वर्षीय युवकले ७१ वर्षीया एक बृद्धा महिलाको हत्या भएको छ ।

हत्याको आरोपमा एक जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख तथा एसपी सञ्जयसिंह थापाले जानकारी दिएका छन ।

मंगलबार स्थानीय ७१ वर्षीया नुरकुमारी थापाको हत्या गरेको आरोपमा सोही वडाका २७ वर्षीय श्यामबहादुर तामाङलाई पक्राउ गरिएको थापाले जानकारी दिए ।

दसैं मान्न पैसा माग्दा नदिएपछि श्यामबहादुरले नुरकुमारीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ । नुरकुमारीले पैसा नदिएपछि श्यामबहादुरले खुकुरीले टाउकोमा हानेको बयानमा बताएको प्रहरीले जनाएको छ ।

श्याम बहादुरलाई प्रहरीले शुक्रबार अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले नुरकुमारीको शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइसकेको छ ।