रविलाई उपमहासचिव रिमालको जवाफ: आफूहरू के गर्दै हुनुहुन्छ त्यो बताउनुस्

२९ आश्विन २०८०, सोमबार ११:२९

काठमाडौँ, २९ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई एमाले उप–महासचिव विष्णु रिमालले अरू राजनीतिक दलहरूले केही गरेनन् भनेर आरोप लगाउनुको साटो आफूहरू के गर्दै छन् भन्ने बताउन आवाश्क भएको बताएका छन ।

रास्वपाका सभापति लामिछानेले आफ्नो पार्टीले अन्य पार्टीजस्तो चुनावपछि नीति कार्यक्रम बनाउने भन्दा चुनाव अघि नै नीति कार्यक्रम तर्जुमा गर्न लागिरहेको र त्यसक्रममा आफू असोज ३ गते रोल्पा पुगेर जनताका कुरा सुनेर अहिले काठमाडौँमा विज्ञका कुरा सुनेर नीति मन्थन गरिरहेको सामाजिक सञ्जालमा पोस्ट गरेपछि उपमहासचिव रिमालले यसको जवाफ पनि सामाजिक सञ्जालबाट नै फर्काएका हुन ।

उनले आज सोमबार सामाजिक सञ्जालमा लेखेका छन, ‘ पार्टी निर्माणको प्रक्रिया त यस्तै हो । ट्रेड युनियनको दुनियाँमा संगठन निर्माण सम्बन्धि एउटा अङ्ग्रेजी शब्द प्रचलित छ– आहा (AHA)–एङ्गर–होप– एक्सन!

पहिले मानिसको निराशालाई समाउने र झोक चलाउने । त्यसपछि ‘म छु नि’ भन्दै उनीहरुमा आशा जगाउने र अन्त्यमा आफूले तय गरेको दिशामा उभिएका समर्थकलाई डोर्याकउने । प्रिय रविजी, पार्टी निर्माणको प्रक्रियामा पनि यस्तै हुने गर्छ । सुरुमा ‘तिनीहरुले गरेनन् भन्दै निराशामा खेल्ने, त्यसपछि आफूलाई ‘क्रुसेडर’को रुपमा प्रस्तुत गर्ने र अन्त्यमा ‘जमिन’मा उभिने– कता जाने हो, के गर्न चाहेको हो, रहस्य खोल्ने ।

इतिहासमा टिकेका सबै पार्टीहरु यस्तै प्रक्रियाबाट गुज्रिएका छन् । जब उनीहरु अजेण्डा’मा पोखिन्छन् अनि मात्र जनताले तिनीहरुको ‘रङ्ग’ थाहा पाउँछन् र, ‘कित्ता–काट’को प्रक्रियामा प्रवेश गर्छन् ।

लाग्छ, अहिले तपाईंहरु पार्टी निर्माणको “प्राकृतिक” प्रक्रियामा प्रवेश गर्दै हुनुहुन्छ, धेरैधेरै शुभकामना । अन्यथा मान्नु हुन्न भने एउटा ‘अनसोलिसिटेड’ सल्लाह दिउँ ? अरुले गरेका थिएनन् हामीले गर्दैछौं– यो ‘भाका’ चाहिँ अलि पुरानो हो, तपाइँहरुजस्तो नयाँ’लाई अलि ‘सुट’ गर्दैन कि ! अरुले के गरेका थिए, ‘बाल’ दिनोस् ।

आफूहरु के गर्दै हुनुहुन्छ, त्यो चाँहि बताउनुस् । “प्रक्रिया” न हो, त्यहाँ नयाँ या पुरानो भन्ने हुन्न । सबैले त्यो बाटो नहिँडी सुखै छैन । हो, को कति “स्मार्ट” भन्ने चाहिँ हुन्छ– जो बढी “स्मार्ट” हुन्छ, त्यसैले “टक्लु’लाई काइँयो” बेच्छ ।