कार्कीलाई कोशीको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दबाब

२६ आश्विन २०८०, शुक्रबार १८:१२

विराटनगर, २६ असोज– नेपाली कांग्रेसबाट ‘विद्रोह’ गरेर मुख्यमन्त्रीका लागि आफ्नो दाबी पेस गरेका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सभासदहरुले प्रदेश प्रमुखको ध्यानाकर्षण गराउन लागेका छन् ।

कार्कीलाई समर्थन गरेका कांग्रेसका उनीसहित ८ जना र नेकपा एमालेका २९ जना सभासद प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालयमा पुगेर मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्न लागेका हुन् ।

एमाले र कांग्रेसका गरी ४८ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन लागेका हुन् । मुख्यमन्त्रीमा गठबन्धन दलहरुका तर्फबाट माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेस गरेका छन् ।

केन्द्रमा भएको माओवादीलाई समर्थन गर्ने सहमतिको विरोधमा कांग्रेसको शेखर कोइराला पक्षधरका तर्फबाट कार्कीले पनि आफ्नो दाबी पेस गरेका हुन् ।कार्कीलाई समर्थन गर्ने सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग गर्दै आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेको बताउँदै आएका छन् ।

त्यही भएर प्रदेश प्रमुखका अगाडि प्रत्यक्ष उपस्थित भएर कार्कीको समर्थनमा रहेको भन्दै उनलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्न लागिएको एक सांसदले बताए ।माओवादीका आङ्बोले कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) का एकजना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए ।