१० नेपाली विद्यार्थीको शव पठाउन इजरायल सरकारले प्रक्रिया थालेको छ: दूतावास

२६ आश्विन २०८०, शुक्रबार १६:४१

काठमाडौं, २६ असोज– इजरायल स्थित नेपाली राजदूतावासले, हिंसामा ज्यान गुमाएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्द ैदूतावासले निधन भएका १० नेपाली विद्यार्थीहरुको शव सम्बन्धीकार्य इजरायल सरकारको नियम तथा प्रकृया बमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको जनाएको छ ।

त्यस्तै दुतावासले हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १ जनालाई उद्धार उडानमार्फत नेपाल पठाइएको र उपचाररत अर्का १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको बताएको छ ।

अन्य २ जनाको भने उपचार भैरहेको समेत विज्ञप्तिमा जनाइएको छ । त्यस्तै नेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई क्रमशः फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको पनि दुतावासले जनाएको छ ।

विज्ञप्तिमा हराइरहेका एक नेपाली विद्यार्थीको खोजीकार्यलाई तीव्रतादिन इजरायलका उच्चस्तरीय निकायका पदाधिकारी हरुसँग पुनः अनुरोध गरिएको जनाइएको छ ।

नेपाल सरकार र दूतावासको सहयोगमा २५४ जना नेपालीको शुक्रबार बिहान उद्धार गरिएको थियो । दूतावासले उद्धार कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्तितथा संघसंस्थालाई धन्यवाददिँदै इजरायलवासी सम्पूर्ण नेपालीलाई संयम रहँदै निरन्तर दूतावाससँगको समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षानिकायको निर्देशनपालन गर्न सूचित गरेको छ ।