प्रहरी हुँ भन्दै रकम लुट्ने दुईजना पक्राउ

२५ आश्विन २०८०, बिहीबार १२:२६

विराटनगर, २३ असोज– प्रहरीले आफूलाई प्रहरी बताउँदै लुटपाटमा संलग्न दुई जनालाई विराटनगरमा पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर ४ का ३६ वर्षीय सुनील थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले दुई दिनअघि विराटनगर १२ रानीका रविकुमार साह सुडीबाट लाखौं रकम लुटेको प्रहरीले जनाएको छ ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार प्रहरी हौं भन्दै धम्क्याएर उनीहरुले लुटपाट गरेको पाइएको छ ।

लुटिएका पीडित साहले बिमाका लागि तिर्न र बैंकमा जम्मा गर्न लैजाँदै गरेको१२ लाख रूपैयाँ लुटिएको प्रहरीमा बताएका छन् ।प्रहरीले पक्राउ परेकाहरुको साथबाट लुटिएको रकम पनि बरामद गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न तामाङ र थापा दुवै जागिर छाडेका (पूर्वप्रहरी) रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहाले जानकारी दिएका छन ।