पुलचोक क्याम्पसको समस्या समाधान गर्न सांसद खनालद्वारा सरकारको ध्यानाकर्षण

१८ आश्विन २०८०, बिहीबार १८:०६


काठमाडौं, १७ असोज– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले, पुलचोक इन्जिनियरिङ क्याम्पसको समस्या छिटो समाधान गर्नआवश्यकपहल गर्न सरकारसंग आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा पुलचोक इन्जिनियरिङ क्याम्पसले बढाएको शैक्षिक शुल्क वृद्धिको विषयलाई लिएर क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीचको विवादलाई समाधान गर्नतर्फ सरकार र सम्बद्ध निकायले पहल थाल्नु पर्नेमा उनले जोड दिए ।

उनले भने, ‘२०५५ सालमा पुलचोक क्याम्पसमा चार वर्षको शुल्क तीन लाख १८ हजार रुपैया ँ तोकियो । त्यस यता एकचोटी पनिशुल्क बढ्न सकेको छैन ।

क्याम्पसमा ४० प्रतिशत विद्यार्थीहरु वर्षको ३५ हजार रुपैयाँ मात्र तिरेर पढ्नुहुन्छ । आजको दिनमा तीन लाख १८ हजारमा गुणस्तरीय इन्जिनियरिङ पढाउन सकिन्छ कि सकिँदैन ?

यो प्रश्न अत्यन्त गम्भिर छ र यसलाई शिक्षा मन्त्रालय,त्रिभूवन विश्वविद्यालय र नेपाल सरकारले गम्भीरता पूर्वक लिनुपर्छ ।’

साथै उनले नेपालको शैक्षिक क्षेत्र सुधार र शिक्षालाई गुणस्तरीय बनाउन सरकारले शैक्षिक क्षेत्रमा गरेको लगानी कम भएको उल्लेख गर्दै त्यसलाई बढाउनु पर्ने धारणा राखे ।

पुलचोकमा नेतृत्व गरि राखेका विद्यार्थी संगठनले क्याम्पस प्रशासनलाई धम्क्याएर भन्दा आफ्ना दलका नेतालाई शैक्षिक क्षेत्रमा लगानी र सुधारबारे प्रश्न गर्नुपर्ने उनको धारणा छ ।

‘जो विद्यार्थी र संगठनहरु आन्दोलनमा हुनुहुन्छ । उहाँहरुले सोध्न पर्ने प्रश्न त्यहाँको प्राध्यापकलाई होकि आफ्नो दलको नेताहरुलाई हो ?

पछिल्लो तीसौँ बर्ष देखि नेतृत्व गरेको सरकारका विद्यार्थी युनियनहरु पुलचोकमा हुनुहुन्छ । प्राध्यापकलाई धम्क्याएर अपहरण गरेर शुल्क नबढाउ भन्ने होकि आफ्नो नेता सँग शिक्षामा राज्यको लगानीपुगेन भनेर धम्क्याउने हो ?’

खनालले भने । उनले सम्पूर्ण विश्वविद्यालयमा विद्यार्थी राजनीतिलाई पूर्ण रुपमा निषेध गर्नुपर्ने देखिएको भन्दै शैक्षिक क्षेत्रको सुधारको लागि सबै खाले राजनीतिबाट विश्वविद्यालयलाई मुक्त गर्नुपर्ने बताएका छन ।