काठमाडौं, १८ असोज– राष्ट्रियसभाका सांसद कुमार दशौंदिले चाडपर्वको बेलामा जनता कालोबजारी र महंगीको मारमा परेको तर सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
उनले कालोबजारी नियन्त्रण गरी जनताका समस्या सहजीकरण गर्न सरकारलाई आग्रह गरे । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकार जनतालाई सेवा गर्न भन्दा आफैं कमिसन खोज्नमा व्यस्त भएको भन्दै आक्रोस पोखे ।
उनले महंगी र गरिबीको मारमा परेका जनतालाई सरकारले राहत दिनुपर्ने भन्दै सरकार जनउत्तरदायि बन्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘जनतालाई मारेर जनतासँग लुट्नका लागि यो सरकार बनेको हो कि जनतालाई सेवा, सुविधा, राहत उपलब्ध गराउन बनेको हो ?
यसको जवाफ सरकारले दिनुपर्छ ।’उनले महंगिको मारले थिचिएका जनतालाई तत्तकाल राहत दिन समेत सरकारसँग माग गरे ।
‘हिजो जस्तै सामन्ती सोच र संस्कारबाट सरकार चलाइरहेका छौं कि लोकतान्त्रिक व्यवस्थाभित्र रहेर जनताबाट जनमत लिएर जनतालाई राहत दिने गरी सरकार चलाइरहेका छौ ?
यसको जवाफ सरकारले दिनुपर्छ’ उनले भने ।ठूला चाडवाड नजिकै आएको बेलामा उपभोग्य वस्तुको अभाव गराउने कालाबजारीहरु सक्रिय रहेको भन्दै उनले अनुगमनको नाममा पैसा कताबाट आउँछ भन्नेतिर मात्र ध्यान दिइने गरेको आरोप लगाए ।
उनले बझाङ भूकम्प पीडितलाई राहत दिन सरकारले तदारुकता नदेखाएको भन्दै त्यसमा सक्रिय रुपमा तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिए ।
