डोटी, १७ असोज– डोटीको शिखर नगरपालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुरु भएको छ । नगरपालिकाले नेपाल टेलिकमसँगको समन्वयमा इन्टरनेट सेवा सुचारु गरेको हो ।
सेवा विस्तार भएसँगै नगरपालिकाको दैनिक कामकाजमा सहजता हुनुका साथै स्थानीयहरुले सस्तोमा गुणस्तरीय इन्टरनेट सेवा उपभोग गर्न पाउने मेयर दीर्घ बलायरले जानकारी दिएका छन ।
लगातार एक वर्षको दौडधुपपछि पालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुचारु गर्न सफल भएको मेयर बलायरले बताएका छन ।
उनका अनुसार कोरालखोलादेखि नगरपालिकाको कार्यालयसम्म ६ किलोमिटर क्षेत्रमा एनटी फाइबर विस्तार गरिएको छ ।नगरका सबै वडा र नगरपालिका माताहतका कार्यालयहरुमा एनटी फाइबर विस्तार गर्ने लक्ष्य लिएको बलायरले बताए ।
हाइवे सडक अन्तर्गत समूहगाडदेखि कोराल खोलासम्म यसै वर्ष नेट सेवा विस्तार गरिने उनी बताउँछन् ।नगरपालिकाका सूचना तथा संचार प्रविधि अधिकृत नवराज भट्टले एनटी फाइबर जडान भएसँगै सप्टवयरले काम नगर्ने समस्या समाधान भएको बताए ।
नगरपालिकाको समन्वयमा नेट सेवा विस्तार गर्न सफल भइएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक किशोर भट्टले बताए ।
ग्राहकको माग अनुसार विस्तारै अन्य वडा र वस्तिहरुमा पनि सेवा विस्तार गर्न सकिने उनको भनाइ छ । शिखर नगरपालिकामा विस्तार गरिएको एनटी फाइवरबाट हाललाई ४ सय वटा लाइन दिन सकिने नेपाल टेलिकम दिपायलका प्राविधिक सुजित चौधरीले जानकारी दिएका छन ।
ग्राहकको माग बढ्दै गए नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा माग गरेर थप गर्न सकिने उनले बताए । चौधरीका अनुसार अहिले इन्टरनेटमा १० एमबिपिएसदेखि उच्चतम गति १०० एमबिपिएस सम्म चलाउन मिल्छ ।वार्षिक न्यूनतम शुल्क ८ हजार देखि ४२ हजार सम्म रहेको उनले बताए ।
एनटी फाइबरबाट इन्टरनेट, टेलिफोन एवं टिभि समेत चलाउन मिल्ने चौधरीले बताए । हाल शिखर नगरपालिका– १०, ११, ८ र ६ सम्म प्रयोग गर्न सकिने गरी एनटी फाइबर विस्तार गरिएको छ ।
नगरका अन्य क्षेत्रमा पनि आवस्यकता अनुसार सेवा विस्तार गरिने नगर उपप्रमुख सुनिता रावल जोराले जानकारी दिएकी छन ।
