अर्थतन्त्रको अवस्था चिन्ताजनक छ, टालटुल गरेर सम्हाल्न सकिँदैनः पूर्व अर्थमन्त्री पौडेल

१६ आश्विन २०८०, मंगलवार १५:२०

काठमाडौं, १६ असोज– पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको बताएका छन् । आज अर्थ समितिको बैठकमा उनले नागरिकहरु पनि मुलुकको अर्थतन्त्र प्रति चिन्तित देखिएको भन्दै यस विषयमा सबै जनाको उपस्थितिमा खुल्ला छलफल हुनु आवश्यक भएको उल्लेख गरे ।

उनले भने, ‘अर्थतन्त्रको अवस्था चिन्ताजनक छ । आम नागरिक पनि मुलुकको अर्थतन्त्रबाट चिन्तित छन् । अहिले हामी सामान्य अवस्थामा छैनौ, टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन ।

त्यसकारण अवस्था कस्तो छ र समाधानका लागि के प्रयासहरु भइरहेका छन् भन्ने विषयमा जानकारी राख्ने अधिकार नागरिकलाई पनि छ । सबै जनाको उपस्थितिमा बैठकमा खुल्ला छलफल गर्नु आवश्यक छ ।’

उनले मन्त्रीसँग सोध्ने प्रश्न सचिव हरुलाई भनेर काम नचल्ने र आवश्यक जवाफ पनि आउन नसक्ने भन्दै अर्थमन्त्रीको यो बैठक भन्दा महत्वपूर्ण काम के पर्यो भन्दै प्रश्न गरेका छन ।

उनले भने, ‘अर्थ मन्त्री लाई समितिमा बोलाए पनि अझसम्म उपस्थिति भएको छैन । यो मिलेन । मन्त्री आउनुहुन्छ भन्ने जानकारीका साथ मन्त्रीको उपस्थितिमा हामी छलफल गर्न पाउँछौ, सवाल जवाफ गर्न पाउँछौ ।

हाम्रो कुराहरु पनि राख्न पाउँछौ त्यसबाट समस्या के हो समाधानका बारेमा अर्थ मन्त्रालयले कसरी सोचिरहेको छ भन्नेबारे जानकारी पाउन सक्छौ भन्ने अपेक्षा हो ।

मन्त्री निरन्तर दोस्रो पटक उपस्थिति हुनु भएको छैन् । यो उचित भएन ।’ नेपालको अर्थतन्त्रलाई गहिरो गरी अवलोकन गरेर अर्थविद हरुको उपस्थितिमा अर्थतन्त्रका समस्याहरुमा केन्द्रीत भएर छलफल गर्ने र समाधानमा अगाडि बढ्न आवश्यक भएको पौडेलले बताएका छन ।

उनले भने, ‘अब एउटा यस्तो बैठकको तयारी गर्नुपर्छ, जसमा समितिको सम्पूर्ण सदस्य, अर्थमन्त्री र अथ मन्त्रालयका कर्मचारीहरुको पनि उपस्थिति रहेर नेपालको अर्थतन्त्रलाई गहिरो गरी अवलोकन गरेर अर्थविद् हरुको पनि उपस्थिति होस् ।

त्यस प्रकारको उपस्थितिमा अर्थतन्त्रका समस्याहरुमा केन्द्रीत भएर छलफल गर्ने र समाधानका लागि सरकारले गरेका प्रयासहरु प्रभावकारी छ छैन भन्ने कुरामा छलफल गर्ने र समितिका निष्कर्षहरु त्यो हाइटबाट प्रस्तुत गर्न सक्ने गरी अर्थ समितिको बैठक आयोजना गरियोस् भनेर सभामुखको अगाडि राख्न चाहन्छु ।’