गृहमन्त्री श्रेष्ठ लाई अध्यक्ष ओलीको प्रश्न: छानबिन गर्दा के बिग्रिन्थ्यो महाशय तपाईंको ?

१६ आश्विन २०८०, मंगलवार १४:५८

काठमाडौ, १६ असोज– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् ।

उनले गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको, तर संगठित रुपमा विरोध गरेर सुशासनको अभियान चलाउन दिएन भनेर गफ दिँदै हिँडेको आरोप छ ।

आज मंगलबार बसेको प्रतनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले गृहमन्त्रीले सोमबार हेटौंडामा दिएको अभिव्यक्तिमाथि प्रश्न पनि गरेका छन ।

उनले भने, ‘हिजो माननीय गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो । सुशासनको अभियान चलाएको, त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् भनेर, कुन विरोधी लागे तपाईंको अभियान रोक्न ?’

‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ, तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ । १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ । छानबिन गर्न आयोग बनाउँभन्दा एक महिनासम्म लडाइँ गर्नुपर्छ ।

छानबिन गर्दा के बिग्रिन्थ्यो महाशय तपाईंको ? किन आत्तिनु भएको स्वतन्त्र निश्पक्ष छानबिनसँग ?’उनले गृहमन्त्रीमाथि थप प्रश्न गरे, ‘एयरपोर्टमा किन पक्राउ परेन सुन ? सिनामंगलमा किन पक्राउ पर्यो, गन्तव्यसम्म पछ्याएर गएर सबै समाउन किन सकिएन ?’ एक क्विन्टल सुन पक्राउ पर्यो ।

त्यो ओसार्ने ट्याक्सी ड्राइभर, मेरो सामान हो भनेर बुझ्ने मान्छे, भरिया नै होला, त्यसलाई अलि परतिर पुर्याएर आवश्यक परेको बखत हाजिर हुनेछु भन्ने कागज गराएर मान्छे भगाउ, समान लगाउ, छिटो गर, जाउ भनेर पठाइयो ।

नत्र किन पठाएको ?’प्रमाणपत्रमा शंका लाग्यो भनेर सांसद सुनिल शर्मालाई थुनेको सरकारले एक क्विन्टल सुन तस्करी गर्नेलाई छाडेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘म गृहमन्त्रीजीलाई सोध्न चाहन्छु, यही हो सुशासनको अभियान ?’