तेजेन्द्र के.सी.
पुष २०, बुुटवल ।
प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुपर्ने माग सहित आन्दोलन शुरु भएको छ । एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस क्षेत्रीय समितिले छुट्टाछुट्टै कार्यक्रम गरी आन्दोलनको शुरु गरेका छन् ।

अनेरास्ववियु र अनेरास्ववियु कान्तिकारीले बुटवलमा हिजो साझ मसाल जुलुस निकाल्दै आन्दोलन शुरु भएको उद्घोष गरेका हुन् । अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पसबाट मसाल जुलुस निकालेको थियो । प्रदेश नम्बर ५ को राजधानी बुटवल घोषणा गर, निर्वाचनको मतपरिणाम सार्वजनिक गर लगायतका प्ले ब्यानर सहित विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन । मसाल जुलुस ट्राफिक चोकमा आई कोणसभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डेले प्रदेशको राजधानी दाङ बनाउने खाका बनाएर लुम्बिनी अञ्चललाई धोका दिन खोजिएको बताए । अखण्ड पाच नम्बर प्रदेश निर्माणको आन्दोलनको केन्द्रबिन्दुलाई अबमूल्यन भए हामी कठोर आन्दोलनमा उत्रिन बाध्य हुनेछौं, उनले बताए ।
यस्तै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ ले प्रदेशको राजधानी बुटवल हुनुपर्ने माग गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनुको विकल्प नभएको जनाएको छ । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रिय सभापति हरी लम्सालले आवश्यक भौतिक पुर्वाधार, सुरक्षा एवं औद्योगिक, पर्यटकिय एवं व्यापारिक हिसावले बुटवल नै उपयुक्त रहेको भन्दै बुटवल नै प्रदेशको राजधानी हुनुपर्ने माग गर्नुभयो । कांग्रेस नेता युवराज गिरीले प्रदेशको राजधानी बुटवल बाहिर तोकिए आन्दोलन गर्ने चेतावनी दिए । ‘पार्टीको निर्णय के हुन्छ भन्ने भन्दा हामी बुटवलका नागरिकका हैसियतले प्रदेशको राजधानी माग गरिरहेका छौं, उनले भने ।
काँग्रेसले आन्दोलनको सांकेतिक स्वरुप बिहिबार विहान ९ बजेदेखि १० बजे सम्म बुटवल, सैनामैना र मणिग्राममा एक घण्टा चक्काजाम गर्ने बताएको छ । यदि सरकारले बुटवल राजधानी नबनाए आन्दोलनको बेरिबाट भएपनि बुटवललाई प्रदेशको राजधानी बनाएरै छाड्ने बुटवल उपमहानगरपालिकाका नगर सभापति खेलराज पाण्डेले बताए । नेकपा एमालेले पनि दवाव मुलक कार्यक्रमको घोषणा गरेको छ । स्थानीय संघस्रंस्थाहरुलाई समेत आह्वान गरी प्रदेशको केन्द्र बुटवल बनाउनका लागि बिहिबार विहान ११ बजे पुष्पलाल पार्कमा दवाव ¥याली निकाल्ने एमाले जनाएको छ ।

