असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

१० आश्विन २०८०, बुधबार १४:१५

काठमाडौ, १० असोज– केन्द्रीय बैंकले दसैँतिहार लक्षित गर्दै यस वर्षको असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको छ ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने नेपाल राष्ट्र बैंकका मुद्रण विभाग प्रमुख एवम् कार्यकारी निर्देशक ईडी नरेश शाक्यले जानकारी दिएका छन ।

बजारको माग र आवश्यकताका आधारमा केन्द्रीय बैंकले आवश्यक सुकिला नोटको व्यवस्था गरेको उनले बताएका छन । कार्यकारी निर्देशक शाक्यले उपत्यकासहित देशका सात वटै प्रदेशस्थित राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नोट सटही सुविधा उपलब्ध गराइने जानकारी गराएका छन ।

मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने उनले बताएका छन ।

उनले भने, त्यसो त अहिले पनि केन्द्रीय बैंकले सुकिला नोट उपलब्ध गराइरहेकै छ । तर विशेष गरी दसैँतिहारका लागि नै बढी सुकिला, नयाँ नोटको माग हुने गरेकाले हामीले नोट सटहीको सुविधा प्रदान गर्दै आएका छौँ’ ‘तथापि, पछिल्लो समय बढ्दो डिजिटल बैंकिङ तथा पेमेन्टको प्रयोगले नगद कारोबार र सटही केहीँ कम हुने हामीले विश्वास गरेका छौँ ।’

तर, दशैंतिहारमा हुने नगद कारोबारमा भने सुकिला नोट नै प्रयोग गर्नुपर्ने शाक्यको भनाइ छ । दसैँको टिकाटालो, पूजापाठमा चल्ने नोटमा अबिरकेसरी पानी पर्ने हुँदा सुकिला नोटको प्रयोग नै उचित हुने उनले बताएका छन ।