रामेछाप, ३ असोज– रामेछापको सुनापति गाउँपालिका–२ दिमी पोखरीको गाल्पाबतासे डाँडामा बन्ने सामुदायिक अस्पतालको लागि दुई जनाले जग्गादान गरेका छन् ।
स्थानीय डा.दिलबहादुर तामाङको अगुवाइमा निर्माण हुनलागेको सो अस्पतालको लागि स्थानीय दुई दाजु–भाइ मोहनकुमार घिसिङ र शम्भु घिसिङले अस्पतालको लागि आवश्यक जग्गा दिएका हुन् ।
गाउँमा अस्पताल नहुँदा आफ्नो आमाले ज्यान गुमाएकाले अन्यको अकालमा ज्यान नजाओस् भनेर अस्पताल निर्माणको लागि जग्गादिएको उनीहरूले बताएका छन ।
उनीहरूले कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालको नाममा जग्गा दिएका छन् । जिल्ला मालपोत कार्यालय रामेछापमा पुगेर अस्पतालको नाममा जग्गापास गरिदिएको मोहनकुमार घिसिङले ।
उनीहरूले अस्पतालको नाममा दुई रोपनी जग्गा पास गरिदिएका छन् । सो जग्गाको अहिलेको मूल्यकरिब ५० लाख रुपैँया रहेको छ ।
अस्पताल निर्माण गर्न लागिएको स्थान जिल्लाको खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकाको बिच केन्द्रमा पर्ने भएकोले सो स्थानमा अस्पताल निर्माण हुँदा तीनवटै गाउँपालिकाका बासिन्दालाई सेवालिन सहजहुने छ ।
डाक्टर तामाङले हरेक महिना विशेषज्ञ शिविर सञ्चालन गरेर सो क्षेत्रमा नागरिक लाई स्वास्थ्य सेवादिँदै आएका छन् । समुदायकै लगानीमा सुविधा सम्पन्न अस्पताल बनाएर स्थानीयलाई थप सेवा प्रदान गरिने उनले बताएका छन ।
