कृषि बैंक र घरघरमा डाक्टर प्रा.लि बीच सहकार्य

३ आश्विन २०८०, बुधबार १४:०३

काठमाडौ, ३ असोज– कृषि विकास बैंक र घरघरमा डाक्टर प्रालिबिच व्यावसायिक सहकार्यको सम्झौता भएको छ । घरघरमा डाक्टरले रोग निदान तथा प्रतिरक्षाका लागि सरसल्लाहसहितको उपचारको प्रबन्धको व्यवस्था गरेको छ ।

सम्झौता अनुसार बैंकले घरघरमा डाक्टरका ग्राहकको पाँच लाख रूपैयाँको दुर्घटना बिमासहितको बैंक खाता खोली कारोबारमा सहजता कायम गर्छ।

घरघरमा डाक्टर प्रालिका अध्यक्ष हेमा जिसी र बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौतापत्र आदानप्रदान गर्दै घरघरमा डाक्टरका अध्यक्ष जिसीले उक्त सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको र यसको लाभ स्वाभाविक रूपमा दुवैलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धमा परामर्श तथा उपचार पद्धतिका सम्बन्धमा सचेतना अभिवृद्धि गर्न सकेमा जनताको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने बताएका छन ।

यस्तै बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले बैंक सधैं ग्राहक सेवामा समर्पित रही गुनासोरहित सेवा प्रदान गर्न तत्पर रहेको बताएका छन ।

सम्झौतामा बैंकले घरघरमा डाक्टरका सेवाग्राहीको ५ लाख रूपैयाँ बराबरको दुर्घटना बिमासहितको बैंक खाता खोल्ने छ भने घरघरमा डाक्टरका कर्मचारीका लागि बिनाधितो कर्जा दिने भएको छ ।

यस अतिरिक्त तलब खातामा बैंकका विभिन्न सेवामा छुट प्रदान गर्नेछ। घरघरमा डाक्टरले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्रलगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम सञ्चालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिने भएको छ ।