हामीलाई सत्ता गठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छ: माधव नेपाल

१ आश्विन २०८०, सोमबार १६:२१

काठमाडौ, १ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एकीकृत समाजवादी लाई सता बाहिर निकाल्ने अनेक षड्यन्त्र भइरहेको बताएका छन् ।

आज (सोमबार) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताएका छन ।

उनले सबै सो षड्यन्त्रबाट होसियार रहन आग्रह गरेका छन । उनले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको रहेको बताएका छन ।

अध्यक्ष नेपालले गठबन्धन बनाउने काममा भूमिका आफूहरूले नै खेलेको भन्दै गठबन्धन पनि आफूले नै जोगाउनुपर्ने बताए ।

अनुचित कुराका विरुद्धमा संघर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरूको रहेको उनले बताएका छन ।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रुपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने बताएका छन ।

उनले व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको बताए । कार्यक्रममा उनले पार्टीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालप्रति इंगित गर्दै एमसीसीको घोर विरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने बताए ।

अध्यक्ष नेपालले एमसीसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको बताएका छन ।