काठमाडौं, १ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर विदेशी सहायता स्वीकार गर्नुपर्ने बताएका छन् ।
आज सोमबार काठमाडौंमा आयेजित नेपाल नेवाः राष्ट्रिय संघ समाजवादीको १७ औं स्थापना दिवसमा उनले अमेरिकी सहयोग नियोग (एमसीसी) लगायत अन्य वित्तीय सहयोग देशको हित बाहिर भए अस्वीकार गर्नुपर्ने बताए ।
उनले भने, ‘केही केही मानिसहरू एमसीसी लाई अस्वीकार गर्नुपथ्र्यो भन्छन् । अरु केही हैन त्यो गरे हामी लाई सरकारबाट फाल्दिन्छन्, पार्टी कमजोर बनाउँछ भन्छन् ।
तर विदेशीहरू हाबी हुने र हामी तमासा हेरेर बस्ने अवस्था आउन दिन हुँदैन । हामी उनीहरूको गति विधिप्रति सधैँ सचेत छौं । हामी देश र जनताको हितमा निर्धक्क भएर काम गर्छौं ।’
अध्यक्ष नेपालले यहाँ विदेशी शक्तिका स्वार्थ एवं साम्राज्यवादी शक्तिहरू आफ्ना योजनाहरू रहेको उल्लेख गर्दै त्यस्ता कार्यप्रति सबै सर्तक हुन आवश्यक भएको बताएका छन ।
हाम्रो देश अत्यन्त भूराजनीतिक जटिलताको अवस्थामा रहेको र कहिले पनि अतिमा गएर राष्ट्रलाई फाईदा नहुने उनको भनाइ छ ।
