शिक्षा विधेयकविरुद्ध शिक्षकहरु आन्दोलित, देशभर विद्यालय बन्द गर्ने चेतावनी

२९ भाद्र २०८०, शुक्रबार १७:४३


काठमाडौं, २९ भदौ– नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै सडक आन्दोलनको घोषणा गरेको छ ।

आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गरी काठमाडौं केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको हो ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनमा ऐक्यबद्धता व्यक्त गरेका छन्।

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षक हरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरुको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायत विषयमा सम्बोधन गर्न नसकेको महासंघको अरोप छ ।

त्यस्तै, संस्थागत विद्यालय युनियनका अध्यक्ष होमकुमार थापाले आफूहरु बाध्य भएर असोज ३ गतेदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा जान लागेको बताए ।

विद्यालय बन्द हुन हुँदैन, विद्यार्थीको पढाइमा कुनै किसिमको असर पर्न हुँदैन भन्ने हेक्का हुँदाहुँदै पनि बालबालिकाको भविष्य बनाउने कुरामा जोडिएका शिक्षकहरुमाथि विधेयकले विभेद गरेको उनको आरोप छ ।