प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण ऐतिहासिक हुन्छ: देवेन्द्र पौडेल

२९ भाद्र २०८०, शुक्रबार १७:२४

काठमाडौं, २९ भदौ– नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमण ऐतिहासिक हुने विश्वास व्यक्त गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठक पछि उनले देशको राष्ट्रियता लाई ध्यानमा राखेर छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुलाई पनि सन्तुलित सम्बन्धमा राख्न चीन भ्रमण महत्वपूर्ण हुने दाबी गरे ।

उनले भने, ‘हाम्रो देशको राष्ट्रियता लाई पनि ख्यालमा राख्दै अरु छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुलाई पनि सन्तुलित सम्बन्धमा राख्नको लागि चिनियाँ पक्षसँग यसपालिको भ्रमणको बेला महत्वपूर्ण विषयमा छलफल हुनेछ ।

खासगरी व्यापार, दुई देश बीचका साझेदारी सम्बन्ध गम्भीर छलफल भएर निर्णय हुने देखिन्छ ।’ उनले चीनसँगको सम्बन्ध पारस्पारीक, मैत्रीपूर्ण, सुमधुर, व्यवस्थित र देशको राष्ट्रियता र सार्वभौमिकतामा आँचनपुग्ने प्रकृतिको हुन आवश्यक भएको बताएका छन ।

चिनियाँ राष्ट्रपति नेपालभ्रमणमा आउँदा केही क्षेत्रका नाकाहरु खोल्ने, व्यापारसँग सम्बन्धित विषय, ठूलाठूला परियोजनाका बारेमा २० बुदेँ हस्ताक्षर भएको भन्दै चीनले नेपाल लाई स्थल, जल र मनबाट संसारका मानव जाति बीच सम्बन्ध विस्तार गर्ने ढोकाको रुपमा बुझेको पनि उनले बताएका छन ।