अग्रज पत्रकार झालाई कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार

२९ भाद्र २०८०, शुक्रबार १७:०५

विराटनगर, २९ भदौ– कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० बाट राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत भएका छन् ।

पिताम्बर–खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगर र नेपाल पत्रकार महासंघ मोरङद्वारा शुक्रबकार आयोजित कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका झालाई २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पुरस्कार हस्तान्तरण गर्दै पत्रकारिताको जग भनेको सत्यतथ्यका आधारित हुनुपर्ने बताएका छन ।

समाज र मुलुकलाई योगदान पुर्याउन सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्नेमा उनले जोड दिएका छन । प्रदेश प्रमुख खापुङ्गले सञ्चारजगत र सबैले समाजमा जातीय, धार्मिक सद्भाव कायम राख्न आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने उल्लेख गर्दै हिमाल, तराई र पहाडका जातजातिका भाषा, भेष, लिपिको संरक्षण गरी मुलुकमा शान्ति र एकता कायम गर्न नयाँ पुस्ता लाग्नु पर्ने आवश्यकता भएको बताएका छन ।

पुरस्कृत व्यक्तित्व अध्यक्ष झाले नयाँ प्रविधि र अवधारणा लगायत अन्य विषयले नेपालको पत्रकारिता क्षेत्र विकास हुनुपर्नेमा समस्याग्रस्त हुँदै गएको बताएका छन ।

समस्याग्रस्त पत्रकारितालाई सदुढ गर्न समाजले नेतृत्व गर्नुपर्नेमा जोड दिदै उनले यसबाट समाज सुसुचित हुनुका साथै सुदृढ समेत हुने उल्लेख गरे ।