काठमाडौं, २९ भदौ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले राजनीतिक परिवर्तनसँगै बालबालिकाका क्षेत्रमा पनि उत्साहजनक रुपमा सुधार भएको बताएका छन ।
आज (शुक्रबार) राष्ट्रिय बाल दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले सरकारले बालबालिकालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
उनले भने, ‘नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनका साथै बालबालिकाको संरक्षण एवं विकासलगायतका विषयमा उत्साहजनक सुधार भएका छन् ।’
मन्त्री आचार्यले बालबालिकाको विषयमा अझै प्रभावकारी रुपमा काम गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन ।
बालबालिकासम्बन्धी नीति मन्त्रीपरिषद्मा पेश भएको र बालबालिकासँग सम्बन्धित मूलभूत रणनीतिहरुका साथ सरकार अगाडि बढीरहेको उनको भनाइ छ ।
