२०८२ मंसिरभित्र महाधिवेशन गरेरै छाड्छौं, विधानले तोकेको समयभित्र हुन्छ: महामन्त्री थापा

२७ भाद्र २०८०, बुधबार १८:१७


काठमाडौ, २७ भदौ– कांग्रेस महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन २०८२ को मंसिरभित्र गरेरै देखाउने बताएका छन् ।

कांग्रेसको विधानमा पार्टीको महाधिवेशन चार वर्षभित्र गर्ने व्यवस्था उल्लेख गरीएको पनि उनले बताएका छन । २०७८ मंसिरमा १४ औं महाधिवेशन भएकाले १५ औं महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्छ ।

तर क्रियाशील सदस्यता विवादले गर्दा कांग्रेसको महाधिवेशन विधानले तोकेको समयभित्र हुन सकेको छैन । आज बुधबार पोखरा महानगरपालिकाको सम्मेलनमा महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले यसपटक विधानले तोकेको समयभन्दा पछि नसर्ने पनि बताएका छन् । उनले भने, ‘२०८२ मा महाधिवेशन गर्नैपर्छ । २०८२ सालको मंसिर उता महाधिवेशन एक जाँदैन, दुई जाँदैन, तीन जाँदैन ।

जान दिइन्न ।’ पार्टीमा क्रियाशील सदस्यता टुंगो लगाउने जिम्मेवारी महामन्त्री थापालाई रहेको छ । उनले २०८२ वैशाखअघि नै क्रियाशील सदस्यता टुंग्याउने पनि बताएका छन् ।

महाधिवेशन हुने वर्षमा नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण नहुने उनले बताए । थापाले भने, ‘क्रियाशील सदस्यता टुंगाउन म संयोजक हुँ ।

सबैले काम गरेर अधिवेशन गराउने हो ।’ चार वर्षभित्र महाधिवेशन हुँदा २०८३ सालमा सबै तहका सम्मेलन गर्न सकिने उनले बताएका छन् ।

तहगत सम्मेलनबाट तल्लो तहका संरचनाले निर्वाचनका लागि आफैं उम्मेदवार छान्न सकिने महामन्त्री थापाले बताएका छन ।