नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न च्यासल पुगे शीर्ष नेता

२६ भाद्र २०८०, मंगलवार १४:५८

काठमाडौ, २६ भदौ– संविधान सभा अध्यक्ष एवंं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका शीर्ष नेताहरु एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भने राष्ट्रिय झण्डा ओढाएकी थिइन् । उनी भावविह्वल देखिएकी थिइन् । एमाले अध्यक्ष ओलीलगायत नेताहरुसँगैको लहरमा बसेकी उनले पटक–पटक आँसु पुछेको देखिन्थ्यो ।

अहिले अन्य पार्टीका पनि नेताहरु, पार्टी कार्यकर्ताहरु, शुभेच्छुक र व्यवसायीहरु पनि नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले केन्द्रीय कार्यालय पुगेका छन् ।

गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको थियो र श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालयमा ल्याएको थियो ।

एमालेले पनि पार्टी उपाध्यक्ष नेम्वाङको निधनको शोकमा तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने र पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । एमालेले असोज २ गते शोक सभा गर्ने निर्णय पनि गरेको छ ।